विद्यालयको संक्षिप्त इतिहास


वि.सं. २०१२/ १३ साल तिर मैनापोखर गा.वि.स. वार्ड नं. १ मा स्थित मानपुर मैनापोखर गाँउपञ्‍चायत भवन भएको ठाउँमा टहरो बनाएर यो विद्यालय  सञ्चालित थियो । यो धेरै वर्ष पछि गाँउपञ्‍चायत भवन भएको ठाउँमा सञ्चालित विद्यालयलाई हाल विद्यालय भवन भएको हाता भित्र हस्तान्तरण गरियो । केही समयमा यहाँ पनि खरले छाएको टहरो बनाएर विद्यालय सञ्‍चालन भयो । मैनापोखर गा.वि.स. वार्ड नं. १, २, ६ र ८ का बासिन्दाहरुको संस्थापक स्व. श्री बाजु बन्द चौधरीको नेतृत्वमा मैनापोखर देखि ५ कि.मि. टाढा मानखोलाबाट बाल्टी र टोकरीमा बालुवा बोकेर ल्याई ती वार्डका बासिन्दाले चन्दा र श्रमदानबाट वि.स. २०१६ सालतिर तीन कोठे पक्की भवन निर्माण गररिएको थियो । यस विद्यालयका भूतपूर्व शिक्षक तथा वि.व्य.स. का अध्यक्ष श्री राम प्रसाद चौधरी र शिक्षाप्रेमि तथा समाजसेवी श्री सियालाल थारुका अनुसार यस  विद्यालयको स्थापनामा  मैनापोखर गा.वि.स. वार्ड नं. ८ का चुन्‍नुलाल थारु, श्याम लाल थारु र मङग्रे जस्ता समाजसेवी तथा शिक्षाप्रेमिहरुको उल्लेखनिय योगदान रहेको थियो । यो विद्यालय स्थापनाकालमा विद्यालयको वरिपरि अधिकांश थारु समुदाय मात्रै थिए । त्यस बेला थारु समुदायको मानिसहरुले आफ्‍ना छोराछोरीलाई विद्यालय पठाउँदैनथे । तर गाई, बाख्रा, भैँसी आदि चराउने र घरको काममा मात्र लगाउँथे । विद्यालयमा छोराछोरीलाई पठायो भने घरको काम कसले गर्दछ भन्दथे । तै पनि तीन चार जना छोराछोरी हुनेले मात्र एउटा छोरी विद्यालयमा पठाउँथे , थारु समुदाय अन्तर्गत चौधरी परिवारको केही व्यक्तिहरु मात्र विद्यालयमा पढ्न आउँथे । त्यस बेलाका समाजमा हिन्दी भाषाको ठूलो छाप थियो । शुरुमा भारतबाट शिक्षकहरु ल्याएर र त्यसपछि मैनापोखर वार्ड नं. ८ का भूतपूर्व अध्यक्ष श्री रामप्रसाद चौधरी, भदोहीका मुन्‍नुलाल थारु, बढैयाका भलमान चौधरी आदिले पढाएको पाईन्छ । शुरुमा हिन्दी भाषाको पुस्तकहरु पाठ्यपुस्तकको रुपमा प्रचलित थिए । हाल विद्यालय स्थापना गरेको ठाउँमा ऐलानी जग्गा थियो । उक्त जग्गा फूलराम थारु, चुन्‍नु लाल थारु, कल्लु भँगी, रमास्रे थारु, विसराम काँदु आदिले कमाउँथे । विद्यालयको लागि जग्गा आवश्यक पर्छ भनी त्यहाँका व्यक्तिहरुको पहलमा ऐलानी जग्गा कमाउने व्यक्तिहरुले विद्यालयलाई जग्गा दिएका थिए । यो विद्यालय स्थापना कहिले भयो भन्‍ने प्रमाण पाउन सकिएको  छैन तर यस विद्यालयले शारदा प्रा.वि. को नामबाट २०१६ सालमा स्वीकृति पाएको समयलाई नै  यस विद्यालयको स्थापना  वर्ष  मानिएको छ । 

यो विद्यालयको शुरुमा तीन कोठे पक्कि भवन बनीसके पछि पनि धेरै वर्ष सम्म खरले छाएको टहरोमा पनि कक्षा सन्चालन भईरह्यो । खरले छाएको टहरोमा कक्षा सन्चालन गर्न उपयुक्त नभएकोले फेरी पनि मैनापोखर गा.वि.स. वार्ड नं. १, २, ६ र ८ का बासिन्दाहरुबाट ठुलो मिहिनेत, परिश्रम र श्रमदानबाट थप तीन कोठा निर्माण गरियो । विस्तारै मानिसमा शिक्षा सम्बन्धि चेतनाको विकास हुँदै जाँदा छोराछोरीलाई अनिवार्य रुपमा विद्यालयमा भवनको अभाव हुन थाल्यो । त्यसपछि समय समयमा गा.वि.स. को रकमबाट विभिन्‍न भवन बनाइयो । वि.स.२०५२ सालमा धन्याञ्चल महायज्ञ गरेर वि.स. २०५५ सालमा थप तीन कोठा निर्माण गरियो । त्यसपछि परियोजना जिल्ला विकास कोषबाट र भूतपूर्व सांसद श्रीमति काशि पौडेलको सांसद कोषबाट पनि केही कोठाहरु बनाईयो । 

यस विद्यालयले २०२९ सालमा नि.मा.वि. तहको अनुमति र २०३२ सालमा नि.मा.वि. तहको स्वीकृति पायो । नि.मा.वि. भईसकेपछि विद्यार्थी संख्या वृद्धि भयो र मा.वि. सञ्‍चालन गर्नु पर्ने आवश्यकता अभिभावक, शिक्षक एवं शिक्षाप्रेमिहरुमा महसुस  भयो। फलस्वरुप यस विद्यालयमा तत्कालिन विद्यार्थीहरु (लक्ष्मी बस्याल, रक्षा बस्याल, दुर्गाा पराजुली, तुलसी पौडेल, लक्ष्मी गुप्ता) तत्कालिन क्षेत्रिय शिक्षा निर्देशानालाय नेपालगन्ज बाँकेमा अनसन बसे । जसको परिणाम स्वरुप तत्कालिन क्षेत्रिय निर्देशकले बाध्य भएर यस विद्यालयलाई वि.स. २०३६ सालमा मा.वि. स्वीकृत प्रदान गरे । मा.वि. तहका प्रथम प्रधानाध्यापक चन्द्र प्रभाकर मिश्रा हुनुहुन्थ्यो । वि.स. २०३८ सालमा यस विद्यालयले प्रथम पटक १८ जना विद्यार्थीहरुलाई एस.एल.सी परीक्षामा सम्मिलित गरायो र १ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । मिति २०५७ सालमा उच्च मा.वि. सञ्‍चालन गर्ने स्वीकृति प्राप्त गर्‍यो ।